बारा ।
नेपाल क्रान्तिकारी किसान सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको बन्द सत्र बारा जिल्लाको कलैयामा सम्पन्न भएको छ । बन्द सत्रमा नेमकिपाका सचिव प्रेम सुवालले राज्यको स्वामित्वमा उत्पादन र वितरणको व्यवस्था भएमात्र देश र जनताको हित हुनेछ भन्नुभयो । निर्वाचनमा पैसा र सामान बाँड्ने, भोज खुवाउने र झूटा आश्वासन दिने पार्टी र उम्मेदवारहरूको पार्टी दर्ता र उम्मेदवारी खारेज हुने कानुनी व्यवस्था जरुरी भएको सचिव सुवालले जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूको सांस्कृतिक स्तर उँचो हुनु जरुरी छ ।” उपभोक्ता समितिमा बसेर भ्रष्टाचार गर्ने, मदिरा खाने, जुवा–तास खेल्नेहरू नेपाल मजदुर किसान पार्टीमा अट्नेछैनन् । यस्ता गलत प्रवृत्तिका मानिसहरू शासक दलहरूमा टाँसिएर बसेका हुन्छन्, सचिव सुवालले सचेत गराउनुभयो । उहाँले भन्नुभयो, “पार्टीका प्रकाशनहरू अध्ययन गरेर नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूले जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्नु आवश्यक छ ।” नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूले व्यक्तिगतरूपमा आफूलाई नोक्सान भए पनि समाज र देशको हितमा काम गर्नु जरुरी रहेको आवश्यकता औँल्याउँदै सचिव सुवालले भन्नुभयो, “आमूल परिवर्तनको लागि एउटा युग लाग्छ । नेपाली जनताको राजनीतिक चेतना माथि उठे आमूल परिवर्तन छिटो हुनेछ ।”
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सदस्य सुरेन्द्रराज गोसाईले बाग्मती प्रदेशमा देश र जनताको पक्षमा सशक्त आवाज राख्दै आएको चर्चा गर्दै शासक दलहरू जनताको समस्याप्रति संवेदनहीन भएको बताउनुभयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सदस्य सृजना सैंजुले किसान कार्यकर्ताहरूले आफूले सिकेको शिक्षा नयाँ पुस्तालाई सिकाउनुपर्ने धारणा राख्दै भोलि देश चलाउने नयाँ पुस्ताले नै भएको बताउनुभयो । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले बन्द सत्रमा मानव समाजको विकास सम्बन्धमा प्रशिक्षण दिनुभयो । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष सुरेश परियारले अमेरिकी साम्राज्यवादले गर्दै आएको थिचोमिचो विषयमा जानकारी गराउनुभयो । नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवालले पेश गरेको समितिको प्रतिवेदन, विधान र राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावहरू संशोधनसहित बन्द सत्रले पास गरेको थियो । बन्द सत्रमा डिल्लीप्रसाद काफ्ले, सरोज साह, दिनेस साह र मुक्ति यादवले पनि बोल्नुभएको थियो । बन्द सत्रले डिल्लीप्रसाद काफ्लेको अध्यक्षतामा एक्काईस सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।