अक्टोबरको पहिलो साता २७ बर्षीय नेपाली युवा मनिष कुँवरको ज्यान गएको न्युयोर्क सिटीको कुख्यात राइकर्स आइल्याण्ड जेल सन् २०२७ को अगस्त ३१ सम्म बन्द गरिने तय भएको छ । तर कुँबरको ज्यान गएपछि एकजना संघीय न्यायाधिसले न्युयोर्क सिटीलाई राइकर्स आइल्याण्ड जेलको अवस्थाबारे द्रुत कारबाहीको माग गरेका छन् । यो जेलबारे गम्भीर हिंसा, दुर्व्यवहार र अन्य मानवअधिकार सम्बन्धि सरोकारहरु रहेका छन् ।
त्यसैले चुनावी प्रचारमा सिटीका जेलहरू सुधार गर्ने वाचा गरेका न्युयोर्क सिटीका मेयर एरिक आडम्सप्रति सबैको नजर छ । यद्यपी उनले आफ्ना वाचाहरु पूरा गर्न धेरै इच्छुक भने देखिएका छैनन् । अक्टोबर १० मा न्युयोर्कको साउदर्न डिस्ट्रिक्टका लागि संघीय अदालतका न्यायाधीश लौरा टेलर स्वेनले एक मुद्दामा आदेश जारी गरेकी हुन् । उनले न्युयोर्क सिटी करेक्सन डिपार्टमेन्टका वरिष्ठ अधिकारीहरूले अक्टोबर १८ भन्दा पछि जेलहरूको अनुगमन गर्ने संघीय टोलीसँग भेटेर जेलहरूमा रहेको अस्वीकार्य स्तरको क्षतिलाई सुधार गर्ने योजनामा सहमत हुने आदेश दिएकी छिन् ।
अक्टोबर २५ सम्म न्युयोर्क सिटीका अधिकारीहरुसँग संघीय मनिटर स्टीव जे मार्टिनसमक्ष जेलमा भएको घटनाहरूको रिपोर्टिङ र सुधारबारे अन्य जानकारी दिने समय रहेको छ । नोभेम्बर ८ सम्म मार्टिनले सिटीका अधिकारीहरूबाट यो आदेशको पालना भए नभएको विषय अदालतमा रिपोर्ट गर्नुपर्नेछ भने सिटीका अधिकारीहरूलाई कसरी जवाफदेही बनाउने भनेर थप सिफारिसहरू गर्न सक्नेछन् । न्युयोर्क सिटीका अधिकारीहरूले आदेशलाई बेवास्ता गरे प्रतिबन्धहरु लगाउन सकिने अदालतको आदेशमा चेतावनी दिइएको छ
डिभीमा आएपछि मानसिक बिरामी र होमलेस भएका थिए न्युयोर्क जेलमा ज्यान गुमाएका मनिष कुँवर
न्युयोर्कको जेलमा रहस्यमय मृत्यु भएका २७ बर्षीय नेपाली युवा मनिष कुँवर मानसिक बिरामी र घरबारविहीन भएको खुलासा भएको छ । उनी अक्टोबर ५ बिहिबार विहान जेलमा मृत अवस्थामा भेटिएका थिए भने उनको मृत्यु भएको कैयन घण्टापछि शव फेला परेको जनाइएको छ । उनको शव विहान ६ बजेर २० मिनेटमा जेलको परिसरमा भेटिएको थियो ।
अन्तिम पटक सुरक्षा अधिकारीहरूले कुँवरलाई उनको शव फेला पार्नु भन्दा १० घण्टा अघि सुरक्षा भिडियोमा जीवित देखेका थिए । कुँवर बुधबार राति ८ बजेर २६ मिनेटमा आफ्नो सेलमा हिड्दै गरेको अवस्थामा देखिएको जनाइएको छ । सेप्टेम्बर २७ मा जेल पर्नुअघि उनी लागूऔषध दुर्व्यसन, मानसिक रोग र घरबारविहीनतासँग संघर्ष गरिरहेका थिए । घरबारविहीन भएर सडकमा संघर्ष गर्दा ज्यान नगुमाएका कुँवरको सरकारी जेलभित्र मृत्यु भएपछि एकजना करेक्सन क्याप्टेन र एकजना अधिकारीलाई निलम्बन गरिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । क्याप्टेनको निलम्बन र भिडियोले जेलका कर्मचारीहरूले रातभर कुँवरको युनिटमा चेकजाँच नगरेको देखिएको छ । डिपार्टमेन्ट अफ करेन्सनको नीति अन्तर्गत कर्मचारीहरूले कम्तिमा प्रत्येक आधा घण्टा एकाइहरू भ्रमण गर्न आवश्यक छ। उनको मृत्यु ओभरडोजका कारण भएको हुनसक्ने आशंकाका साथ अनुसन्धान भइरहेको छ । तर उनको मृत्युको कारण आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन ।