विदाका दिनमा समेत अन्तरवार्ता लिएर गत महिना अमेरिकी दूतावास काठमाडौंले १३४१ जना नेपालीलाई विद्यार्थी र विद्यार्थी डिपेन्डेन्ट भिसा दिएको छ । अमेरिकी दूतावास काठमाडौंबाट जुलाईमा १२२० जनाले विद्यार्थी भिसा एफवान र १२१ जना उनीहरुका डिपेन्डेन्टले एफ टु भिसा प्राप्त गरेका छन् । यो विवरण अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले बिहिबार सार्वजनिक गरेको हो ।
जुलाईमा विश्वभरबाट विद्यार्थी र विद्यार्थी डिपेन्डेन्ट भिसा पाउने नेपालीहरुको संख्या भने १४२६ रहेको छ । जसमध्ये १३०१ जनाले एफ वान र १२५ जना उनीहरुका डिपेन्डेन्टले एफ टु भिसा प्राप्त गरेका छन् । जुलाईमा विद्यार्थी भिसा दिनका लागि अमेरिकी दूतावास काठमाडौंले सुपर सन्डेका नाममा आइतबार पनि भिसा अन्तरवार्ता लिएको थियो ।
अमेरिकी दूतावास काठमाडौंले जुलाई १७ आइतबार विद्यार्थी भिसाका सयौं भिसा अन्तरवार्ताहरु लिएको थियो । जुन महिनाको अन्तिम सातादेखि अप्वाइन्टमेन्टहरु खुला गरेर उक्त दिन अन्तरवार्ता लिइएको थियो ।
सामान्यतया आइतबार दूतावास बन्द हुने भएतापनि विद्यार्थीहरुलाई अमेरिकामा अध्ययनका लागि अवशरको महत्व र उनीहरुको कक्षा समयमै सुरु गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर दूतावासले भिसा अप्वाइन्टमेन्टहरु उपलब्ध गराएको थियो।
अमेरिकी दूतावास काठमाडौंमा भिसाको अप्वाइन्टमेन्ट पाउन मुस्किल रहेको गुनासो आइरहँदा त्यसलाई सम्बोधन गर्न दूतावासले यो प्रयास गरेको थियो । सुरुमा अप्वाइन्ट लिन चाहनेहरु र पछिको अप्वाइन्टमेन्ट अगाडि सार्न चाहनेहरुलाई पनि यो अवशर प्रदान गरिएको थियो ।