नयाँ दिल्ली । भारतको शीर्ष औषधि नियन्त्रकले चार वर्षभन्दा कम उमेरका बालबालिकाहरूमा खोकीको झोल औसधीको मिश्रणको प्रयोगमा रोक लगाएको छ । गएको वर्ष भारतीय कम्पनीले बनाएको खोकीको औषधि खाएर गाम्बिया र उज्बेकिस्तानमा एकपछि अर्को गर्दै दर्जनौँ बालबालिकाहरूको मृत्यु भएपछि यो प्रतिबन्ध लगाइएको हो ।
भारतमा पनि सन् २००१ देखि सन् २०२० को बीचमा त्यस्तै खालको औषधि खाएर कम्तीमा १२ जना बालबालिकाहरूको मृत्यु भएको थियो । यी औषधि बनाउने कम्पनीहरूले आफूले कुनै पनि गलत काम नगरेको भन्दै आफ्नो प्रडक्ट प्रयोग गर्न सुरक्षित भएको दाबी गरिरहेका छन् ।
बुधवार प्रतिबन्धको आदेश दिइएको छ । औषधि निर्माताहरुले औषधिको प्याकेजिङ वा बोतलमा चार वर्षभन्दा कम उमेरका बालबालिकामा औषधिको प्रयोग गर्न हुँदैन भनेर अनिवार्य रूपमा चेतावनी राख्नुपर्नेछ ।
प्रतिबन्ध लगाइएको औषधिहरूमा क्लोरफेनिरमिन मेलिएट र फिनाएलेफ्रिन रहेको छ । यो औषधिलाई सन् २०१५ मा अनुमति दिइएको थियो । यसलाई खोकीको झोल औषधि बनाउन र रुघा खोकीको लक्षणहरूको उपचारमा चलाइने चक्की औषधि बनाउन प्रयोग गरिन्छ।
गाम्बियामा भारतीय कफ सिरफको औषधि खाएर ६६ जना बालबालिकाको मृत्यु भएपछि विश्व स्वास्थ्य सङ्गठनले पनि भारतमा बनाइएका खोकीका औषधिहरूको प्रयोग नगर्न भन्दै विश्वभर नै चेतावनी जारी गरेको थियो ।
उज्वेकिस्तानमा पनि भारतमा बनेको खोकीको औषधि खाएर १८ जना बालबालिकाहरूको मृत्यु भएको थियो । सन् २०१९ मा भारतकै जम्मु क्षेत्रमा पनि विषालु खोकीको औषधि खाएर २ महिनादेखि ६ वर्ष बिचका कम्तीमा १२ जना बालबालिकाको मृत्यु भएको थियो ।
एजेन्सी ।