बझाङ, असोज ४ । माहुरीको मिलनजस्तै सङ्केत गर्ने मेला हो, सैन्डाँडा । सामाजिक एकताको प्रतीकका रूपमा चिनिने सैन्डाँडा मेला भाद्र शुक्ल दशमीको दिनदेखि चहलपहल सुरू हुन्छ । मेला भने शुक्ल चतुर्दशीदेखि शुक्ल पूर्णिमाको तेस्रो दिनसम्म लाग्ने गर्छ ।
बझाङ, बाजुरा, अछामसहित हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन आउने मेलाले संस्कृतिलाई जोगाएको खप्तडछान्ना गाउँपालिका–६ का वडाध्यक्ष तेजबहादुर खड्का बताउनुहुन्छ । उहाँले सैन्डाँडा मेला साझा फूलबारी भएको भन्दै पूजाआजामा सहभागी हुने सबै समुदायले पहिचान जोगाउन पनि मद्दत गरेको बताउनुभयो ।
उहाँले खापरमाडौँ (सैन्डाँडा) को डोली अछामबाट ल्याउने बेलादेखि नै छान्नाबासी सबै समुदाय मिलेर काम बाँडफाँट गरेको हुँदा अहिले पनि सबै समुदायले आफ्नो जिम्मेवारी पूरा गर्दै आएको बताउनुभयो । “जसरी खापरमाडौँमा सबै समुदायको समान अधिकार छ, त्यसरी नै छान्नावासीलाई एकतामा बाँध्न यो माडौँले ठूलो काम गरेको छ”, उहाँले भन्नुभयो, “माडौँ त्यस्तो ठाउँ हो, जहाँ हजारौँका मनमुटावलाई पनि बाँध्ने गर्छ । त्यसरी नै यो पनि समुदायको मनमुटावलाई बाँधेर एकता कायम गर्ने मेला हो ।”
सबै समुदायमा आ–आफ्ना टोलमै माडौँ स्थापना गरेर पूजाआजा गरिन्छ तर, खापरमाडौँ बाजुरा, अछाम, डोटी तथा बझाङको छान्नाका सबै समुदायले पूजा गर्दै आएको साझा थलो भएको खप्तडछान्ना गाउँपालिका–५ का कुलप्रसाद जोशीले बताउनुभयो । “यो सबैको साझा मन्दिर हो”, उहाँले भन्नुभयो, “सबैको समान दायित्व र समान अधिकार भएको खापरमाडौँले समुदायमा सद्भावको काम गरिरहेको छ ।” यहाँ पूजाआजा गर्नेले बाहिर विभिन्न समुदायको लडाइँ झगडा गरे पनि खापरमाडौँमा सबैले एकसाथ पूजा गर्नुपर्ने उहाँले बताउनुभयो । “मिलाप हुनैपर्छ भन्ने एकताको सन्देश दिएको छ । समाजलाई बाँध्न पनि यस्तै माडौँहरू आवश्यक पर्छन्”, उहाँले भन्नुभयो ।