३ कात्तिक, एजेन्सी ।
ऋषभ शेट्टी अभिनित फिल्म ‘कान्तारा’ ले दिन प्रतिदिन नयाँ रेकर्ड बनाइरहेको छ । फिल्मले विश्वभर राम्रो व्यापार गरिरहेको छ । फिल्म कन्नड उद्योगको तेस्रो धेरै कमाउने फिल्मसमेत बन्न सफल भएको छ । कमाईको हिसाबले कान्तारा कन्नड फिल्ममा केजीएफ र केजीएफ २ भन्दा मात्र पछाडि छ । रिलिज भएको २० दिनमा विश्वभर १७१।४१ करोड कमाएर कान्ताराले सबैलाई चकित बनाएको थियो । कान्ताराले कमाइको मामलामा कन्नड फिल्म उद्योगका ठूला फिल्मलाई समेत पछाडि पारेको छ । यसले विक्रान्त रोना, जेम्स र ७७७ चार्ली जस्ता फिल्मलाई पछाडि पारेको हो । आम्दानीको रफ्तार यहि गतिमा रहे आगामी दिनमा केजीएफको रेकर्ड समेत तोड्ने अनुमान गनर्ज सकिन्छ ।
कन्नड भाषामा फिल्म राम्रो भएपछि निर्माताले यसलाई अन्य भाषामा रिलिज गरेका थिए । जसको नतिजा निकै शानदार आइरहेको छ । फिल्मले हिन्दी भाषामा मात्र ४ दिनमा १० करोड कमाएको छ भने हिन्दी बाहेक तमिल र तेलुगुमा पनि फिल्म रिलिज भएको छ । अब यो फिल्म छिट्टै २०० करोड क्लबमा सामेल हुने अनुमान लगाइएको छ ।
ऋषभ शेट्टीको निर्देशनमा बनेको यो फिल्म सानो बजेटको बावजुद ठूलो व्यापार गर्न सफल भएको हो । भर्खरै फिल्म निर्देशक राम गोपाल वर्माले यो फिल्म हेर्दा धेरै ठूला फिल्म निर्माताको हराम हुने बताएका थिए ।
-दैनिक भास्कर