५ कात्तिक , काठमाण्डौ ।
यमपञ्चक अर्थात तिहार आजदेखि सुरु हुँदैछ । आज दिउसो कात्तिक कृष्ण त्रयोदशी तिथि लाग्ने र बेलुकी यमदीप दान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी गराएको छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता रहीआएको छ । यसैगरी धनत्रयोदशी धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण पर्सि सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।
काग तिहार भने भोलि परेको छ । समितिका अनुसार भोलि बेलुकी ५ बजेर ४ मिनेटसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाईने गरिन्छ। गाईपूजा ८ गते मङ्गलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलिपूजा र आत्म अर्थात म्ह पूजा कात्तिक ९ गते बुधबार परेको छ भने यसवर्षको भाइटीका १० गते बिहीबार परेको छ । १० गते बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।