अल्ली पहिले
यो शरीर बाट आँशु खस्यो
आमाको हत्केलामा गई पर्यो !!
अल्ली पछि
यो शरीर बाट पसीना खस्यो
बाबाको बारीमा गई पोखियो !!
केही पछि
यो शरीर बाट वीर्य खस्यो
संगिनीको संचितीमा गई बस्यो !!
त्यसपछि
यो शरीर बाट रगत खस्यो
देशको दलिनमा गई लतपतियो !!
आज
यो शरीर बाट र्यान र सिंगान खसिरहेछ
तर पोखिने ठाउँ पाइरहेको छैन !!
एक दिन
यो शरीर नै खस्ने छ !!
जवान दाउराहरूले
बुढो शरीरलाई पगाल्दा
जे खस्नेछ अग्नीमा तब,
त्यसैले बलिरहनेछ बत्ती सायद
त्यसैले चलिरहनेछ संसार सायद !
म, एउटा पट्यारलाग्दो समय
यसै गरी बितिदिनेछु !
मानिसहरू हतारमा छन,
बाँसले घोंच्दै भन्ने छन घाटमा-
‘कती चाम्रो रहेछ यो
जल्दै जलेन,गल्दै गलेन !!
कोही फुर्सदमा मरेको दिन
कोही अर्को हतारमा हुन्छ !
….यही नै समय हो !!
हेमन्त गिरी
जापान
जापान
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??