७ कात्तिक, काठमाण्डौ ।
तिहारको तेस्रो दिन आज कुकुर । कुकुरको पूजासहित तिनलाई मीठामीठा खानेकुरा खान दिएर आज कुकुर तिहार मनाइँदैछ । यमपञ्चकको दोस्रो दिन कुकुर तिहार पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी गराएको छ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास रहेको छ । यस्तै आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गइ स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको छ । कुकुरलाई बफदार र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।