८ कात्तिक , काठमाण्डौ ।
यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीबाट पाँच सय ५० जनाको उम्मेदवारी खारेज भएको छ । समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा नाम समावेश भएका छ हजार चार सय ५७ उम्मेदवारमध्ये तोकिएको जरिबाना समयमा नबुझाउने र अन्य अयोग्यता भएका तीन सय ६९ सहित उम्मेदवारका सम्बन्धमा परेको दाबी विरोधमाथि जाँचबुझ गरी उम्मेदवारको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बन्दसूचीमा समावेश रहेकामध्ये २०७९ असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधि सभा सदस्यतर्फ २३ जना र प्रदेश सभा सदस्यतर्फ २९ जना गरी ५२ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, महिला–पुरुषको विवरण फरक परेका ३७ जना, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधि सभातर्फका छ जना, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेश सभातर्फका १२ जना र आवश्यक कागज प्रमाण पेस नभएका छ जनाको नाम पनि सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक र कालोसूचीमा रहेका एक जनाको नाम पनि हटाइएको छ ।