११ कात्तिक, काठमाण्डौ ।
तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएपछि आजबाट छठको रौनक बढेको हो । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ। कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ। छठ पर्व सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने गरिन्छ ।
अहिले छठपर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन्। घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका काम पनि धमाधम भइरहेका छन् । पर्सि छठको मुख्य दिन हो । छठ पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।