बङ्गलादेश सरकारले बिजुली अभावका कारण यसअघि गरिएको परिवर्तनपछि सोमवार फेरि नोभेम्बरदेखि लागू हुने गरी कार्यालय समय परिवर्तन गरेको छ। प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको मन्त्रिपरिषद्का सचिव खण्डकर अनवारुल इस्लामले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि सरकारी कार्यालय र स्वायत्त संस्था बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म चलाउँदै आइएको थियो तर यसमा परिवर्तन गरी बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कार्यालय समय तोकिएको छ ।
अधिकारीका अनुसार नयाँ कार्यतालिका नोभेम्बर १५ देखि लागू हुनेछ । सर्वोच्च अदालत, बङ्गलादेश बैंक र विद्यालय तथा कलेज प्रशासनले आ–आफ्नो कार्यतालिका तय गर्नसक्ने उहाँले बताउनुभयो। इन्धन अभावको सामना गरिरहेको बङ्गलादेशले बिजुली बचत गर्न र ट्राफिक जाम कम गर्न गएको अगस्टमा सरकारी कार्यालयको समय एक घण्टा घटाएको थियो ।
-एजेन्सीहरुको सहयोगमा