spot_img
spot_img
spot_img

पाल्पामा चिच्याएर वर माग्ने मेला लाग्दै

spot_img

पाल्पामा मन्दिरमा पुगेर चिच्याएर वर माग्ने मेला लाग्दैछ । मेलाको लागी सम्पुर्ण तयारी पुरा भएको सत्यवती मन्दिर ताल संरक्षण विकास समितिले जनाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा यही कात्तिक १८ देखि २२ गतेसम्म मेलाको आयोजना गरिएको छ । हरेक वर्ष यहाँ कात्तिक पूर्णिमाका बेला तीन दिन मेला लाग्दै आइरहेको छ तर यसपाली भने दुई दिन थप गरी पाँच दिनसम्म मेला लाग्ने जनाईएको छ । मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले चिच्याएर वर माग्ने चलन चलिआएको छ। धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा सत्यवती बज्यैले कान नसुन्ने भएकाले चिच्याएर वर माग्ने प्रचलन चलिआएको बताईन्छ । यहाँ बाँसको लिङ्गो लिएर आवाज निकाल्ने गरी चिच्याउँदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने गरिन्छ ।

मन्दिरमा प्रायः रातको समयमा पूजा गर्ने प्रचलन छ । किंवदन्तीअनुसार एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले आफ्नो मनोकाङ्क्षा पूरा गर्ने वर मागे । बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिइन् । ती युवाले घर फर्किए लगत्तै सुनाउँदा उनको ज्यान गएकोले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको स्थानीयवासी बताउँछन् । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकलअनुसार पूजा गर्न विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा दर्शनार्थी भित्रिने हुनाले पूजालाई व्यवस्थापन गर्न समितिलाई अनुरोध गरिएको तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो ।

यो वर्ष मेलामा आउने भक्तजनलाई सहजरूपमा मन्दिरसम्म पुग्न यातायातको व्यवस्था र सुरक्षाको प्रबन्ध राम्रो गरिने अध्यक्ष श्रेष्ठ बताउनुभयो । नेपालका विभिन्न जिल्ला र भारतको सुनौली, नौतुना, गोरखपुरलगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा हरेक वर्ष यहाँ लाग्ने मेलामा दर्शनार्थी मन्दिरमा पूजाआजा गर्न आउने गरेको स्थानीयवासीले जनाएका छन ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img