रुपन्देही । चर्चित व्यक्तित्वहरुको प्रतिस्पर्धा रहेको रुपन्देही निर्वाचन क्षेत्र नम्वर १, मा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन कडा टक्करका साथ अघि बढेको छ। सवैले उम्मेदवारहरुले जित सुनिश्चित भएको दावी गरिरहेपनि नेकपा एमालेका उम्मेदवार छविलाल विश्वकर्मालाई वाहेक अन्यलाई भने सहज देखिदैन। स्थानीय निर्वाचन २०७९ मा प्राप्त गरेको मतलाई आधार मान्दा सत्ता गठवन्धनको समर्थन रहेको वाम स्वतन्त्र उम्मेदवार घनश्याम भूषाल भन्दा एमाले, राप्रपा र जसपाको साझा उम्मेदवार विश्वकर्माको मत बढि देखिन्छ । रुपन्देहीको क्षेत्र नम्वर १, मा १ लाख ३९ हजार ५ सय ६० मतदाता रहेका छन। स्थानीय तह २०७९ निर्वाचनको मत परिणामलाई हेर्दा सत्ता गठबन्धन संग नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्यि जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्यि जनमुक्ति पार्टी लगायतको प्राप्त मत जोड्दा करिव ४० हजार हुन आउछ।
यसैगरी नेकपा एमाले, राप्रपा र जसपाको प्राप्त मत जोड्दा करिव ५२ हजार रहेको छ। रुपन्देहीको क्षेत्र नम्वर १, मा दुई गठबन्धन भन्दा बाहिर करिव ७ हजार मत रहेको पाईन्छ। यस पटकको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दुई गठबन्धनका उम्मेदवार वाहेक अन्य दल र स्वतन्त्रको उम्मेदवारी समेत रहेको छ। तत्कालिन नेकपा एमाले देवदहका अध्यक्ष रहेका टिकाराम चापागाईले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिनु भएको छ। स्वतन्त्र उम्मेदवार चापागाईले समेत आफुले जित्ने दावी गरिरहनु भएको छ । दुवै गठबन्धनको मत आफुले प्राप्त गर्ने हुदा आफनो जित सुनिश्चित रहेको चापागाईले दावी गर्नु भएको छ।
यता स्वतन्त्र उम्मेदवार बन्नु भएका घनश्याम भूषालले सत्ता गठवबन्धनको समर्थन रहेकोले आफनो जित सुनिश्चित रहेको बताउदै आउनु भएको छ। तर स्वतन्त्र उम्मेदवार चापागाईले भने नेकपा एमालेले टिकट नदिएपछि पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका भूषालको जित्ने संभावना नरहेको दावी गर्नु भएको छ। नेकपा एमाले, राप्रपा र जसपाका साझा उम्मेदवार छविलाल विश्वकर्माले सत्तागठबन्धन भन्दा करिव १५ हजार बढि मतले आफुले जित निकाल्ने दावी गर्नु भएको छ। रुपन्देहीको निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमाले पछि तेश्रो शत्तिका रुपमा राष्ट्यि प्रजातन्त्र पार्टी र चौथो शक्तिका रुपमा जनता समाजवादी पार्टीको रहेको छ। यी तथ्यगत आधारलाई हेर्दा पनि नेकपा एमाले नेतृत्वको साझा उम्मेदवारहरुको पल्ला भारी रहेको छ।
यसैगरी रुपन्देहीको क्षेत्र नम्वर १(१) मा नेपाली काग्रेसका विश्वनाथ यादव र राष्ट्यि प्रजातन्त्र पार्टीका आशिषकुमार चौधरी प्रतिस्प्रर्धामा उत्रिएका छन्। दुवै उम्मेदवारले निर्वाचन आफनो पक्षमा रहेको दावी गरिरहेका छन्। २०७९ को स्थानीय तहको प्राप्त मतलाई आधार मान्दा १(१)मा सत्तागठबन्धनको पक्षमा करिव २० हजार मत रहेको छ भने नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त प्यानल संग करिव २८ हजार मत देखिएको छ। त्यसैगरी क्षेत्र नम्वर १(२) मा नेकपा एमालेका दधिराम न्यौपाने र नेपाली काग्रेसका अव्दुल रज्जाकले पनि जित सुनिश्चित रहेको दावी गरिरहेका छन्। स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा सत्तागबन्धनको तुलनामा एमाले बलियो रहेको पाईन्छ।
क्षेत्र नं१(२)मा सत्ता गठवबन्धनको करिव २० हजार मत रहेको छ भने, एमाले, राप्रपा र जसपाको करिव २४ हजार मत रहेको छ। स्थानीय तह २०७९ मा यस क्षेत्रका राजनैतिक दलहरुले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने, नेकपा एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारको मत बढिरहेको देखिन्छ। स्वतन्त्र उम्मेदवार टिकाराम चापागाई र अन्य उम्मेदवारहरुले दुवै गठबन्धनको समान मत पाउने राजनीतिक विश्लेषकहरुको भनाई रहेको छ। नेकपा एमालेको संगठन मजवुत भएका कारण यस पटकको निर्वाचनमा पनि एमालेकै उम्मेदवारहरुले जित निकाल्न सक्ने संभावना बढेर गएको छ।