यही ४ गते आईतवार हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्मका लागी यो अवधि लागू रहनेछ । स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका सम्बन्धमा आचारसंहितामा उल्लेख छ । यस अवधिमा चुनाव प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिरया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँनेछैन । यसैगरी मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आचारसंहितामा उल्लेख गरिएको छ ।
आउँदो आइतवार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ । स्थिर समयमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र चुनाव प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका लागि सामग्री पोष्ट वा सेयर गर्न वा गराउन नहुने भनिएको छ ।
ऐनअनुसार प्रावधान विपरीतको कार्य गर्नेलाई निर्वाचन आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछन। साथै चुनावलाई ध्यानमा राखेर आज राति १२ बजेदेखि नै नेपाल–भारत सीमानाका बन्द गरिँदैछ । यसका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायमार्फत् भारतसँग समन्वय गरिएको छ । मतदान नसकिएसम्म नाकाहरू बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।
चुनावका लागि देशभर कुल १० हजार ८ सय ९२ केन्द्र र २२ हजार २ सय २६ मतदान स्थल तोकिएको छ । आइतवार हुने मतदानमा देशभरबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चयन गर्नेछन् ।