अष्ट्रेलियाको प्रहरीले तीस वर्षदेखि महिलालाई आतंकित गर्ने ‘सिरियल रेपिस्ट’ को पहिचान गर्न सफल भएको छ । किथ सिम्स नाम गरेका व्यक्तिले करिब ४० वर्षअघि पहिलो पटक एक महिलालाई आफ्नो शिकार बनाएको प्रहरीको दाबी छ । यी व्यक्तिले सन् १९८५ देखि २००१ सम्म घरभित्र पसेरै वा हिँड्दा ३१ महिलालाई आफ्नो शिकार बनाएका थिए । अहिलेसम्म अनुसन्धानकर्ताले यी बलात्कार विभिन्न व्यक्तिले गरेको अनुमान गरेका थिए । तर डीएनए प्रविधिको सहयोगमा अनुसन्धानकर्ताहरु यी सबै अपराधका लागि किथ सिम्स जिम्मेवार रहेको निष्कर्षमा पुगेका छन् । सिम्सको यस वर्ष फेब्रुअरीमा ६६ वर्षको उमेरमा निधन भइसकेको छ ।
ट्र्याकसूट रेपिस्टदेखि बोन्डी बिस्टसम्म विभिन्न नामले चिनिने सिम्सले सन् १९८५ मा क्लोभेलीको समुन्द्री उपनगरमा पहिलो पटक एक महिलालाई आफ्नो शिकार बनाएका थिए । त्यसपछि सन् २००१ मा उनले अन्तिम पटक एक चिहानमा कुनै महिलालाई आफ्नो शिकार बनाएका थिए ।
यी घटनाबारे छुट्टाछुट्टै छानबिन गरिए पनि प्रहरीले सन् २००० मा यसलाई एक–आपसमा जोड्न थाल्यो । मृतकमध्ये १२ जनाको डिएनए एक समान थियो भने बाँकी १९ घटनामा आक्रमणकारीको मोडस अपरेन्डी उस्तै थियो ।
१४ देखि ५५ वर्ष उमेर समूहका पीडितले आफूमाथि आक्रमण गर्ने व्यक्तिबारे दिएको जानकारी एकदमै मिल्दोजुल्दो थियो । यस व्यक्तिको उचाइ १६० देखि १८० सेन्टिमिटरको बीच थियो । छालाको रंग कालो, आँखाको रङ खैरो र नाक चौडा थियो । ती व्यक्तिले आफ्नो अनुहार ढाक्ने गर्दथे र आरामदायी कपडा जस्तै ट्र्याक सुट, हुडी र फुटबल शर्टस् लगाउने गर्दथे । यी व्यक्ति महिलालाई चक्कुले धम्काउँथे र उनीसँग चक्कु छ भनेर विश्वास दिलाउने कोसिस गर्दथे ।
सन् २०१९ मा प्रहरीको डाटाबेसमा डीएनए नमूना फेला परेपछि अनुसन्धानकर्ताले ठूलो उपलब्धि हासिल गरेका थिए जसको सहयोगमा अनुसन्धानको दायरा ३२४ जनाबाट घटाएर निकै कम भएको थियो । गत सेप्टेम्बरमा सिम्सबाट प्राप्त नमूना पीडितहरूबाट प्राप्त नमूनाहरूसँग मेल खायो । यद्यपि, स्थानीय खबरमा सिम्सलाई एक राम्रा पिता, बाबा र समुदायका सदस्यको रुपमा बयान गरिएको थियो ।
एजेन्सी/बीबीसी