चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले निर्वाचित भएपछि जाँच दिन जानका लागि सक्षम हुनु मात्र भएको बताएका छन । बिहीवार चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएलगत्तै लामिछानेको फेसबुकमा पोष्ट गर्दै उक्त कुरा लेखेका हुन । ‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन । यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आज बाट जाँच दिन जाँदैछु, जसको नतिजा ५ वर्षपछि मात्र आउँछ । म जनतालाई जिताउने जाँच दिन जाँदैछु, त्यसैले म अहिले नै विजय र्याली गर्न चाहन्न ।’ लामिछानेले आफूलाई बधाई दिन आउँदा फूलमाला, अबिर, खादा केही नल्याउन पनि आग्रह गरेका थिए ।
उनले आजैदेखि आफूले काम थाल्ने पनि जनाएका छन । लामिछानेले चितवन २ बाट ४९ हजार २ सय ६१ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका थिए । लामिछाने ३४ हजार १ सय ६२ फराकिलो मतले विजयी बनेका छन । यस्तै एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत प्राप्त गरेका छन ।