देवदह // रुपन्देहीको देवदहमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने मुल नारा सहित आयाेजित उक्त कार्यक्रम देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता र नगर प्रमुख धुर्व खरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिकाका प्रमुख खरेलले कतिपय अवस्थामा जान्दा जान्दै पनि अनेक किसिमका हिंसाहरु हुने गरेकाले त्यसमा सजग हुनुपर्ने बताउनुभयो। उहाले समाजमा हुने लैङ्गिक, यौनिक तथा अन्य हरेक खाले हिंसालाई बाहिर ल्याएर त्यसको समाधान गर्नेतर्फ सबैको एक मत हुनुपर्नेमा जाेड दिनुभयाे।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख गुरुङ्गले लैङ्गिक हिंसालाई न्युनिकरण गर्न सकेमा विकासको एउटा इटा थपिने बताउनु भयो। समाजमा व्याप्त लैङ्गिक हिंसाहरुको न्यूनीकरणका लागि यसरी विश्वव्यापी रुपमा मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई नगरपालिकाले पनि मनाउने गरेको उहाले बताउनुभयो।
त्यसैगरी मानव अधिकारकर्मी रिमा बि.सी.ले मानव अधिकार र कर्तब्य सम्बन्धि साथै महिला अधिकार कर्मी ईन्दिरा अर्यालले लैङ्गिक हिंसा सम्बन्धी लैङ्गिक अवधारणाको विषयमा विभिन्न शिर्षकमा रहेर प्रष्ट पार्नुभएको थियोे । सोही अवसरमा कार्यक्रममा सहभागीहरूले बाेल्दै लैङ्गिक हिंसा न्यूनिकरणका लागि टोल विकस संस्थाहरुलाई परिचालन गरिनुपर्ने बताएका थिए।
उप प्रमुखसंग महिला कार्यक्रम सञ्चालक समिति सदस्य वेनु माया सार्कीको स्वागत र ईन्दिरा भुषालको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका महिला अगुवा, स्वयंसेवीका, बाल सञ्जालका विद्यार्थी, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, दलित सामुदाय, फरक क्षमता भएका, जनप्रतिनिधी, सुरक्षा निकाय, पत्रकारको सहभागिता रहेकाे थियाे ।