नेपाल मगर संघ, कञ्चन गाउ ईकाई समितिद्वारा मगर जातीको नयाँ बर्ष ५०१६ तथा माघ्या संक्रान्ती पर्वको अवसरमा खिचडी तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। संघको शनिवार बसेको कार्य समितिको बैठकले कञ्चन गाँउपालिका वडा नं ४ स्थित दियो खेल मैदानमा सो कार्यक्रम गर्ने निर्णय गरेको हो। मगर समुदायको आफ्नै भाषा धर्म र कला संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यका साथ नयाँ बर्ष ५०१६ बारे नयाँ पुस्तालाई हस्तान्तरण गर्न कञ्चनमा यस बर्ष देखि माघ्या सकराटीलाई सांस्कृतिक पर्वको रुपमा मनाउन शुरु गरिने संघका अध्यक्ष कविराज काउचा मगरले जानकारी दिनुभयो।
“हामी मगर हुनुमा गर्व हुनुको साथै हाम्रो भाषा, संस्कृति र परमपरालाई नयाँ पुस्तामा हस्तान्तरण नगरे मगर जातीको समेत अस्तित्व हराउने सम्भावना बढी हुन्छ। तसर्थ यस बर्ष देखि मगरहरुको मुख्य चार्ड माघ्या सकराटी तथा नयाँ बर्ष ५०१६ को अवसरमा कार्यक्रम सञ्चालन गर्ने कार्यको थालनी गर्न लागेका छौं।” अध्यक्ष काउचाले भन्नुभयो। यही पुस ३० गते शनिवार आयेजना गरिने माघ्या सकराटी पर्वलाई व्यवस्थित रुपमा भव्य र सभ्य तरिकाले सञ्चालन गर्न नेपाल मगर संघ, कञ्चनका वडा इकाई समितिहरुलाई मगर समुदायको खानाको परिकारहरुको प्रदर्शनीका लागि स्टलको रुपमा ५ वटा मगर भान्सा घर बनाइने संघले जनाएको छ। उक्त कार्यक्रममा खिचडी, बटुक (बारा), विरम्ला, तरुण(नाम्या), चटनी (छोप) मासु (स्या) लगायत परम्परागत खानेकुराहरुको प्रदर्शनी सहित व्यबसायिक भान्सा घर राखिने नेपाल मगर संघ, कञ्चनले जनाएको छ।
यसैगरी उक्त दिन मगर समुदायको भाषा कला संस्कृति र परम्पराबारे प्रबचनका लागि नेपाल मगर संघ, केन्द्रिय समितिबाट मुख्य वक्ताको रुपमा आमन्त्ररण गरिने र कार्यक्रममा मारुनी नाच, सोरठी, कौडा नृत्य सहित लोक कला संस्कृति झल्किने गित तथा नृत्य समेत प्रस्तुत गरिने छ।




