सामाजिक संजालमा छुवाछूत, भेदभाव र जातीय विभेदलाई प्रश्रय दिने, संरक्षण गर्ने तथा दलित जातीको घोर अपमान हुने गरि अफवाह फैलाउने काम भइरहेको भन्दै नेकपा मशालले आपत्ती जनाएको छ। आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा मशालले फेसबुकमा मधु खड्का क्षेत्री (मधु क्षेत्री) नाम भएकी महिला गायिकाले दलित समुदायप्रति लक्षित गरि सामाजिक संजालमा भिडियो मार्फत गरिएको गालिगलौज, प्रयोग भएका अश्लील र अपमानित शब्द तथा छुवाछूत, भेदभाव र जातीय विभेदलाई संरक्षण दिने अभिप्रायले प्रसारण गरिएको र त्यसप्रति सम्बन्धित सबैको ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
मशाल सम्बद्ध केन्द्रिय दलित बिभागका प्रमुख गौरीलाल कार्कीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा “संवैधानिक एवं कानुनी रूपमा जातीय विभेद, छुवाछूत र भेदभाव गम्भीर कसुर हो । एक्काइसौं शताब्दीमा सामाजिक रूपमा यस्ता दृष्टिकोण र क्रियाकलाप घृणित कुराहरु हुन् । सामाजिक संजाल समाजमा रहेका सबै व्यक्ति र समुदायको एकता, सम्मान र सद्भावको लागि उपयोग गरिनुपर्छ । सामाजिक संजालमा निज महिलाले दलित समुदायको मानवता, भावना र आत्मसम्मानमा गहिरो चोट पुग्नेगरि अफवाह फैलाएकी छन् । शब्द, भावना र भाषा अश्लील, अपमानित र अनैतिक रूपमा जथाभावी प्रयोग भएको छ । जुन अत्यन्तै निच, तुच्छ, आपत्तिजनक र समाजमा रहेका विभिन्न समुदायबीचको सद्भाव ध्वस्त पार्ने प्रकारको छ । हामी उनको त्यो हर्कतको कडा शब्दमा विरोध गर्दछौं ।” भनिएको छ।
कुनै व्यक्ति, जाती वा समुदायको समाजमा सम्मानित भएर रहन पाउने अधिकार विरुद्ध बोल्ने अधिकार कसैलाई हुँदैन भन्दै प्रमुख कार्कीले छुवाछूत, भेदभाव र जातीय विभेदलाई संरक्षण गर्नु अपराध भएको र जातिय बिभेदयुक्त बोली बोल्ने कठित गायिका खडकाले आफ्नो टिकटकमा प्रसारण गरिएको लाइफ भिडियो प्रचलित छुवाछूत तथा भेदभाव कसुर सजाय ऎन, मुलुकी फौजदारी अपराध संहिता २०७४ र नेपालको संविधान २०७२ विरुद्ध भएको हुँदा उक्त व्यक्तिलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याइ सजाय कार्यान्वयन गर्न प्रेस विज्ञप्तीमा मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ।