इन्गेजमेन्ट टुटेपछि ‘आत्महत्या गरेकी २७ वर्षीया पुष्पा न्यौपानेका प्रेमी जेल चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंले प्रेमी सुदन संग्रौलालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । धुम्बराहीको पिपलबोट चोक नजिकै रहेको संग्रौलाको घर अगाडि मंसिरको १९ गते पुष्पा जलिरहेको अवस्थामा भेटिएकी थिइन् । उनको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।
उनको मृत्यु भएपछि प्रहरीले सुधनलाई पक्राउ गरी आत्महत्या दुरूत्साहनको मुद्दा चलाएको थियो। काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार उनलाई गत बिहीबार नै पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नागथदेवलमा पठाएको छ। यस घटनामा मृतक परिवारले सुरूमा सुधनसहित उनको परिवारका चार जनाविरूद्ध मुद्दा हालेका थिए। तर अदालतले सुधनमाथि मात्रै अनुसन्धान गर्न म्याद थप गरेको थियो।
प्रहरीले अनुसन्धान गरी पुस ९ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो। त्यसपछि पुस १३ गते बुधबार मुद्दा दर्ता भएकोमा बिहीबार थुनामा पठाएको हो।