एजेन्सी । भारतको उत्तर प्रदेशमा उच्च चिसो र शीतलहरबाट नागरिकमा हृदयघातको समस्या देखिएको छ । कानपुरमा एकैदिन हृदयघातका कारण कम्तीमा २२ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य निकायलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेहरु सबै उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिममा रहेको कानपुरका बासिन्दा हुन् ।
लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी कानपुरले निकालेको पछिल्लो विवरण अनुसार अस्ति बिहीवार अस्पतालको आकस्मिक तथा बहिरङ्ग विभाग ओपीडीमा ७ सय २३ जना मुटुका बिरामी आएका थिए । तीमध्ये अस्पतालमा ७ जनाको उपचारकै क्रममा ज्यान गएको थियो भने १५ जनालाई अस्पताल आइनपुग्दै मृत घोषणा गरिएको थियो ।
अस्पतालका डाक्टरले कानपुरमा फैलिएको शीतलहरका कारण अचानक रक्तचापमा वृद्धि भएको र त्यसले हृदयघात निम्त्याएको बताएका छन् । कानपुरमा व्यापक शीतलहर रहेको र हृदय रोगबाट पीडित हुनेको सङ्ख्या ह्वात्तै बढेको अस्पतालका निर्देशक विनय कृष्णले बताउनुभएको छ । स्वास्थ्य विज्ञले सबैलाई न्यानोमा रहन र घरभित्रै बस्न सल्लाह समेत दिएका छन् । भारतको उत्तरी राज्यमा केहीदिनदेखि तापक्रम निक्कै घटेको छ ।