रवि राना//
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न५ मानपकडी दर्बहवामा माघी तथा खिचडी महोत्सव २०७९ हुने भएको छ । थारु जातिको नववर्षको अवसरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरि थारु कल्याणकारणी सभाको आयोजना तथा शुद्धोधन गाउँपालिकाको सहयोगमा धार्मिक तथा पर्यटकीयस्थल भुनेश्वरी कोटहीमाई मन्दिर दर्बहवामा उक्त महोत्सप हुने भएको हो। पत्रकार सम्मेलनमा माघी पर्वबारे जानकारी गराउदै थारु कल्याणकारी सभा शुद्धोधन सभापति पल्टन चौधरीले यहि पौष २९ र ३० गते २ दिन सम्म चल्ने महोत्सवको सम्पुर्ण तयारी पूरा भएको र महोत्सवमा थारु कला, संस्कृति, भेषभुषा, झल्कने गरिने विभिन्न प्रर्दशनी राखिने बताउनुभयो।
‘हाम्रो संस्कृति हाम्रो सान पहिचान जोगाउन हाम्रो अभियान’भन्ने मुल नाराका साथ सञ्चालन हुने महोत्सवको पहिलो दिन रक्तदान, महिलाहरुका लागि कुर्ची दौड ,टिकुली रेस र दोस्रो दिन ३१ स्थानका थारु गाउँबाट झाकी र्याली सहित थारुका संस्कृति उजागर गर्न विभिन्न सास्कृतिक प्रस्तुति हुने उहाले बताउनुभयो ।
यस्तै थारु कल्याणकारणी सभाका जिल्ला कोषाध्यक्ष चन्द्रभान चौधरीले थारु समुदायको कला संस्कृति संरक्षण र प्रर्वद्धनमा कल्याणकारी सभाले निरन्तर रुपमा कार्यक्रम सञ्चालन गर्दै आएको स्मरण गर्दै माघी तथा खिचडी महोत्सव २०७९ को रुपमा यस बर्ष पनि आयोजना गरिएको बताउनुभयो । शुद्धोधन ५ का वडा अध्यक्ष समेत रहनु भएका चौधरीले थारु समुदायको मौलिक कला, संस्कृति थारु जातिहरुको मात्र संस्कृति र गहना मात्र नभइ समग्र देशको पहिचान भएको बताउनुभयो ।
करिब १५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा थारु समुदायका परिकारहरु घोङी, ढिकरी, माछा, परेवाको मासु, हाँसको मासु, लड्डु, खिचरी लगायतका परिकारहरुको स्वाद सहित ख्याती प्राप्त राष्ट्रिय थारु कलाकार अञ्जु कुस्मी फुलकुमारी, दिपेन चौधरी,सरगम चौधरी, मिलन चौधरी, घनश्याम सेन्चुरी लगायतका स्थानीय कलाकारहरु बिशेष सांस्कृतिक प्रस्तुती रहने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ।