३० पुस, देवघाट ।
भक्क्तालुहरुको पवित्र तीर्थस्थल देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । आज बिहान बाँसको लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको हो । मेलामा गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीयको उपस्थिति रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले माघे सङ्क्रान्ति मेलाको अवसरमा आज र भोलि नारायणगढ मुग्लिन सडकखण्ड नरोकिने जानकारी दिनुभएको छ । पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेकाले पुस ५ गतेदेखि दिउँसोमा सवारी रोकी काम गरिँदै आएको थियो ।
आज राति भक्तजन जाग्राम बस्ने छन । शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।