एजेन्सी//
पोखरा विमान दुर्घटनामा जुन पाँच भारतीयको मृत्यु भएको छ, तीमध्ये एक व्यक्ति बिहारको सीतामढी जिल्लाको बैरगनियामा बस्ने सञ्जय जायसवाल पनि हुन् । उनी आफ्नी बहिनीको घरमा छोरी जन्मिएपछि काठमाडौँबाट पोखरा जाँदै थिए । त्यति नै बेला उनी चढेको यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भयो । भारतीय सञ्चार माध्यम आजतकका अनुसार सीतामढको बैरगनियास्थित अशोगी गाउँका वडा नम्बर–६ का बासिन्दा सञ्जय जायसवालकी बहिनी पोखरामा बस्छिन् ।
उनले केही दिन अघि मात्रै छोरी जन्माएकी थिइन् । छोरीको जन्मपछि उनको घर र माइती दुबैमा खुसीको माहौल थियो । यसै खुसीमा सामेल हुन माइती पक्षले छोरा सञ्जयलाई बहिनीको घरमा पठाए । सञ्जय सुरुमा बिहारबाट काठमाडौँ र त्यहाँबाट पोखरा जाँदै थिए । पोखरा पुग्न नपाइ उनको मृत्यु भयो ।
भारतीय सञ्चार माध्यमका अनुसार खबर सुनेलगत्तै उनको परिवारमा कोलाहल मच्चिएको छ । उनका बुवाले छोरीले शल्यक्रियामार्फत् छोरी जन्माएका कारण छोरालाई हेर्न पठाएको जानकारी दिए । विमान दुर्घटनामा मृत्यु भएका पाँच भारतीयमध्ये अन्य चारजना पशुपतिनाथको दर्शन गर्न आएका थिए ।