एजेन्सी//
क्लबले खेलाडीको खरिद–बिक्रीमा अनियमितता गरेको आरोपमा युभेन्टसको १५ अङ्क घटाइएको इटालीको फुटबल फेडरेसन -एफआईजीसी- ले जानकारी दिएको छ । खेलाडीको ट्रान्सफरमा कृत्रिम नाफा देखाएर क्लबको हिसाब मिलान गराएको सिरिए क्लबमाथि आरोप लागेको थियो । हाल तेस्रो स्थानमा रहेको युभेन्टसको १५ अङ्क घटाएपछि लिगको १० औँ स्थानमा खस्किनेछ । युभेन्टसले भने आफूले कुनै गल्ती नगरेको बताउँदै आएको छ। क्लबले निर्णयविरुद्ध पुनरावेदन दिने अपेक्षा गरिएको छ । क्लबका वकिलहरूले यसबारे विस्तृत अध्ययन गरिरहेको प्रतिक्रिया दिएका छन् ।
यसअघि गत नोभेम्बरमा क्लबका अध्यक्ष आन्ड्रेया एग्नेली र उपाध्यक्ष पाभेल नेडभेडले राजीनामा दिएका थिए । एफआईजीसीले एग्नेली र क्लबका पूर्व सीईओ माउरिजियो एरिभाबेनमाथि दुई वर्षको प्रतिबन्ध लगाएको छ । एग्नेली १२ वर्ष क्लबका अध्यक्ष रहेका थिए । यो समयमा क्लबले ठुलो घाटा बेहोरेको थियो ।