एजेन्सी//
न्युजिल्यान्डले घरेलु टोली भारतलाई पहिलो टी-२० आन्तर्राष्ट्रियमा २१ रनले पराजित गरेको छ। जितसँगै न्युजिल्यान्डले तीन खेलको सिरिजमा एक शून्यको अग्रता बनाएको छ। जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन मात्र बनाउन सक्यो। उसका लागि तल्लोक्रमका ब्याटर वासिन्टन सुन्दरले २८ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए। सूर्यकुमार यादवले ३४ बलमा ६ चौका र २ छक्कासहित ४७ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
माथिल्लो क्रमका तीन ब्याटर शुभमन गिल ७ र इशान किसन ४ रनमा पभेलियन फर्किंदा राहुल त्रिपाठी डक आउट भए। कप्तान हार्दिक पान्ड्या २१, दीपक हुडा १०, शिवम माभी २ र कुलदीप यादव शून्यमा आउट भए। न्युजिल्यान्डका माइकल ब्रेसवेल र मिचेल सान्टनार २ विकेट लिए। लोकी फर्गुसन, जकोब डफी र ईश सोधीले एक एक विकेट हात पारे। त्यसअघि राँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो।
उसका लागि डेभोन कनवे र डरेल मिचेलले अर्धशतकीय पारी खेले। मध्यक्रमका ब्याटर डर्याल मिचेल ३० बलमा ३ चौका र ५ छक्कासहित ५९ रनको अविजित इनिङ खेल्दा कनवेले ३५ बलमा ५२ रन बनाए। ओपनर फिन एलेन ३५ रनमा आउट भएका थिए। मार्क च्यापमनले खाता खोल्न सकेनन्। ग्लेन फिलिप्स १७ रनमा मैदान बाहिरिए। भारतका लागि वासिङटन सुन्दरले दुई विकेट लिए। कुलदिप यादव, शिभम माभी र अर्शदिपले एक/एक विकेट बाँडे। यसअघि भएको ओडीआई सिरिज गुमाएको न्युजिल्यान्ड भारत विरूद्ध टी(२० जित्दै पुनरागमनको प्रयासमा छ। दोस्रो खेल भोलि लखनउमा हुनेछ।