spot_img
spot_img
spot_img

भक्तपुर न.पा र विभिन्न नगरपालिकाका नगर प्रमुखहरूबिच भेटघाट

spot_img

बाँके//

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र कर्णाली तथा लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न नगरपालिकाका नगर प्रमुखहरूबिच सोमबार छुट्टाछुट्टै भेटघाट कार्य सम्पन्न भएको छ । विभिन्न स्थानीय तहका प्रमुखहरूसँग अनुभव आदानप्रदानको सिलसिलामा प्रमुख प्रजापतिले सुर्खेतको भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल, सुर्खेतको गुर्भाकोट नपा प्रमुख हस्त पुन, बाँकेको कोहलपुर नपाका प्रमुख पूर्णप्रसाद आचार्य, सल्यान जिल्ला शारदा नपाका प्रमुख प्रकाश भण्डारी र बर्दियाको बाँसगढी नपाका प्रमुख खड्गबहादुर खड्कासँग अलगअलग भेटघाट गर्नुभएको थियो ।
भेटको क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबारे सङ्क्षिप्त परिचय र नगरपालिकाका विशेषताहरूबारे अवगत गराउँदै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल र ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भक्तपुर नपा ख्वप विश्वविद्यालय सञ्चालनको तयारीमा रहेको स्पष्ट पार्दै शैक्षिक ऋण, छात्रवृत्ति, सम्पदा पुनःनिर्माणलगायत नपाबाट सञ्चालित विविध पक्षबारे उल्लेख गर्नुभयो । भेटको अवसरमा भेरीगङ्गा नपाका प्रमुख यज्ञप्रसाद ढकालले कर्णाली प्रदेशको प्रवेशद्वारको रुपमा रहेको भेरीगङ्गा नपा १३ वटा वडामा विभाजित भएको, नगरपालिकाको २०७८ सालको जनगणनाअनुसार कुल जनसङ्ख्या ४८ हजार ५ सय रहेको जानकारी दिँदै क्षेत्रफलको हिसाबले सुर्खेतको ५ नगरपालिकामध्ये तेस्रो ठूलो नगरपालिकाको रहेको बताउनुभयो ।

उहाँले यस क्षेत्रमा बेमौसमी तरकारी खेती, दुग्ध उद्योग र बाख्रापालनको माध्यमबाट मानिसहरूको जीविकोपार्जन भइरहेको, सबै जातजातिहरूको मिश्रित बसोबास रहेको,विशेषगरी क्षेत्री, ब्राह्मण, दलित र मगर जातिहरूको बसोबास रहेको बताउनुभयो ।
भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरिरहेको उपलब्धि निकै प्रशंसनीय भएको उल्लेख गर्दै उहाँले मासिकरूपमा नियमित सरसफाइ अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।
त्यस्तै सुर्खेतको गुर्भाकोट नपाका प्रमुखसँग भएको भेटमा प्रमुख पुनले कर्णाली प्रदेश सुर्खेत जिल्लादेखि पूर्वमा अवस्थित यस नगरपालिकालाई सहरको रुपमा विकास गर्ने योजनाका साथ अगाडि बढिरहेको बताउनुभयो । सुर्खेत नपाको कुल जनसङ्ख्या ४३ हजारभन्दा बढी रहेको जानकारी गराउँदै उहाँले व्यापार, उद्योग, पर्यटन र व्यवसायिक कृषिको माध्यमबाट नगरवासीको जीविकोपार्जन भइरहेको बताउनुभयो । उक्त भेटघाटमा गुर्बाकोट नपाका उपप्रमुख मैना विक र कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

कोहलपुर नपाका प्रमुख पूर्णप्रसाद आचार्यसँगको भेटमा प्रमुख आचार्यले नेपालको मध्यपश्चिम तराई क्षेत्रमा पर्ने यस नगरपालिकाको कुल क्षेत्रफल १८४।२६ वर्ग किमि। रहेको बताउनुभयो । उहाँले बाँके जिल्लाको सदरमुकाम सहरको रूपमा रहेको नेपालगञ्जबाट करिब १० किमि उत्तरपट्टि रहेको कोहलपुर नपाले नगर प्रहरीको व्यवस्थापन गर्दै आइरहेको बताउनुभयो । सोही भेटमा सल्यानका शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले भक्तपुर नपाले गरिरहेको असल अभ्यासबारे आफू अवगत भएको र भक्तपुरको कामबारे सिक्न भक्तपुर नपाको अवलोकन भ्रमण गर्ने योजनामा रहेको जानकारी दिनुभयो ।
यसैबिच कोहलपुरको बाँसगढी नगरपालिकाका प्रमुख खड्गबहादुर खड्कासँग भएको भेटमा प्रमुख खड्काले लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा पर्ने यस नगरपालिका नयाँ नगरपालिकाको रूपमा रहेको बताउँदै उक्त नगरभित्र ५६ वटा विद्यालय रहेको जसअन्तर्गत ४० वटा सामुदायिक र १६ वटा निजी विद्यालयहरू रहेको बताउनुभयो ।
बाँसगढी नपाभित्र बर्दिया राष्ट्रिय निकुञ्ज रहेको जानकारी दिँदै उहाँले उक्त नपा ९ वटा वडामा विभाजित रहेको र करिब ७२ हजारको जनसङ्ख्या रहेको बताउनुभयो । सो भेटमा बाँसगढी नपाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल र शिक्षा अधिकृत छत्रबहादुर शाहीको उपस्थिति थियो ।
विभिन्न नगरपालिकाका नगर प्रमुखहरूसँगको भेटमा भक्तपुर नपा वडा नं। १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र कार्यपालिका सदस्य रञ्जना त्वातीको पनि उपस्थिति थियो भने उक्त भेटमा नगर प्रमुख प्रजापतिले नगर प्रमुखहरूलाई नगरपालिकाका प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभएको थियो । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापति नेपाल मजदुर किसान पार्टीको ४९ औं स्थापन दिवसको अवसरमा आयोजित बिभिन्न कार्यक्रमहरुमा मुख्य वक्ताहरुको रुपमा उपत्यका बाहिरका बिभिन्न जिल्लाहरुको भ्रमणमा हुनुहुन्छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img