१९ माघ, काठमाण्डौ ।
मानव बेचबिखन गरेको आरोपमा दुई जना म्यानपावर एजेन्ट पक्राउ परेका छन्। कुवेत पुर्याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले उदयपुर घर भई टोखा नगरपालिका ३ स्थित डेराबाट ४४ वर्षीय रवि थापा मगर र इलाम घर भई काठमाडौं ९ शम्भुमार्ग स्थित न्यू लक्ष्मीमार्ग गेष्ट हाउसबाट ४१ वर्षीय डम्बर मगरलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले मंगलबार पक्राउ गरेको एसपी दानबहादुर मल्लले जानकारी दिनुभएको छ।
रेष्टुरेन्टमा काम सकाएर पोर्चुगल र अमेरिकामा रहेको रेष्टुरेन्टमा पनि पठाइदिने प्रलोभन देखाएको एसपी मल्लले बताउनुभयो । उहाँका अनुसार पीडितलाई २०७१ मंसिर २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्याएका थिए। त्यहाँ पुर्याएर अर्का एजेन्टमार्फत १३०० कुवेती दिनारमा पीडितलाई बिक्री गरेको पाईएको छ । बिक्री गरी दैनिक १८ घण्टा सम्म काममा लगाएर श्रम शोषण गरेको प्रहरीले जनाएको छ ।
आफन्त प्रहरीको सम्पर्कमा आएपछि ब्युरोले कुवेतमा रहेको नेपाली राजदूतावाससँग समन्वय गरेको थियो। समन्वय गरी पीडितलाई गत माघ ४ गते कुवेतबाट उद्धार गरी नेपाल फिर्ता ल्याइएको थियो। नेपाल फिर्ता आएपछि पीडितले एजेन्टहरू विरूद्ध माघ १० गते जाहेरी दिएका थिए। अहिले उनीहरूविरूद्ध मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ बमोजिम अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।