तिलोत्तमा //
शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले समूहको वार्षिक कार्यक्रम अनुसार समूहका पार्षद तथा कर्मचारीहरुको ब्लड सुगर र लिपिड प्रोफाइल अन्तर्गत कोलेस्ट्रोलको निःशुल्क परीक्षण गराएको छ । सामुदायिक वनको आयोजना र शंकरनगर स्वास्थ्य चौकी तिलोत्तमा–२ को प्राविधिक सहयोगमा समूहको कार्यालय प्रांगणमा कार्यसमिति, पार्षद, सल्लाहकार तथा कर्मचारीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थ्य परीक्षण कार्यक्रमको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले भौतिक विकास मात्र नभएर मानवताको शहर निर्माण गर्ने अभियानमा लाग्नुपर्ने बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई मध्यनजर गरी विभिन्न स्वास्थ्य चौकीहरुवाट सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने ब्यवस्था मिलाएको उल्लेख गर्नुभयो । नगरपालिकाले स्वास्थ्यको गुणस्तरलाई माथि उठाउने र नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यअनुरुप आनन्दवन हेल्थ पोष्टबाट प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँमा रगतबाट गरिने होलबडी चेकजाँच र सेमरा हेल्थ पोष्टवाट प्रतिव्यक्ति ६५० रुपैयाँमा एक्स–रे र भिडियो एक्स–रेको सुविधा रहेकाले आफ्नो स्वास्थ्य जाँच गराई लाभ लिन नगरबासीलाई आग्रह गर्नुभएको छ ।
समूहका सचिव कालिका अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा समूहका अध्यक्ष रविन्द्र बस्नेतले समूहको वार्षिक कार्यक्रमअनुसार समूहका पार्षदहरुलाई निःशुल्क रुपमा रगतबाट जाँच गरिने ब्लड सुगर र कोलेस्ट्रोलको परीक्षण गरिएको बताउनुभयो । पार्षद तथा कर्मचारीहरुमा स्वास्थ्यप्रति सचेतना जगाउंदै नियमित स्वास्थ्य जाँच गराउने बानीको विकास गर्ने उद्देश्यअनुरुप निःशुल्क रगत परीक्षण कार्यक्रम आयोजना गरिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
समूहकी उपाध्यक्ष कमला ज्ञवालीले मानिसको सबैभन्दा ठूलो सम्पति स्वास्थ्य रहेको र स्वस्थ मानिसले मात्र समाज विकासमा योगदान गर्न सक्ने भएकाले सामुदायिक वनले पार्षदहरुको स्वास्थ्य जाँचलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिएको बताउनुभयो। समूहका ३१२ जना पार्षदमध्ये करिब २५० जनाले बिहीबार विहान खालीपेटमा ब्लड सुगर र कोलेस्ट्रोल जाँचका लागि रगत दिएको समूहका कोषाध्यक्ष भुवन आचार्यले जानकारी दिनुभएको छ ।