चितवन//
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि चितवनको पटिहानीमा गैँडा संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय छलफल सुरु गरेको छ । एसियाका पाँच देशसहित १० देशका संरक्षणकर्मीको सहभागिता रहेको छलफल कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै गएको बताउनुभयो । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको कार्यक्रममा नेपाल, भारत, भुटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारीहरू सहभागी छन। नेपाल विश्वमै एकसिङ्गे गैँडाको दोस्रो ठूलो बासस्थान हो ।
यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति भएको बताउनुभएको छ । भिडियो सन्देशमार्फत् गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै एकसिङ्गे गैँडाको सुरक्षामा सरकार संवेदनशील रहेको बताउनुभएको हो । उहाँले गैँडाको सुरक्षाका लागि बासस्थान चुनौतीपूर्ण बन्दै गएको भन्दै सम्बन्धित क्षेत्रका विज्ञको सुझावमा सरकारले योजना ल्याएर वन्यजन्तु जोगाउने बताउनुभयो । नेपालको प्राकृतिक सम्पदा, गैँडालगायत वन्यजन्तुको बासस्थान भएकै कारण विदेशीहरू नेपाल आउने गरेको र यसले नेपालको आर्थिक विकासमा टेवा पुर्याएको उहाँको भनाइ छ । विदेशमा गैँडा संरक्षणमा भएका प्रयास र सिकाइलाई आपसमा साटासाट गर्न यो कार्यक्रम सहयोगी बन्ने विश्वास लिइएको छ ।
पाँच देशका अधिकारीहरूले आफ्नो देशमा संरक्षणका क्षेत्रमा भएका प्रयासबारेमा जानकारी गराएसँगै विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । नेपालका तर्फबाट वातावरणमा आएको परिवर्तनले वन्यजन्तु र बासस्थानमा परेको असर र गैँडा संरक्षणमा भएका कामसँगै शून्य चोरी सिकारी नियन्त्रणका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । भोलि गैँडाको बासस्थानको अध्ययन गरिने कार्यक्रम छ। यस्तै पर्सि आइतवार संरक्षणसम्बन्धी चितवन घोषणापत्र सार्वजनिक गरिनेछ । छलफलमा ३० विदेशी र ३० जना नेपाली संरक्षण तथा अधिकारी सहभागी छन् । यसअघि ‘राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ पहिलो पटक इण्डोनेसिया र दोस्रो भारतको नयाँ दिल्लीमा भएको थियो ।