काठमाण्डौ //
‘नेपाली केटी’ नामको एप प्रयोग गर्दै लाखौं रकम ठगी गरेको आरोपमाआठ जना पक्राउ परेका छन । जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार एक पत्रकार सम्मेलन गरी ठगी आरोपमा पक्राउ परेका आठ जना सार्वजनिक गरेको छ । ललितपुर सातदोबाटो बस्ने एक जना पीडितले खाताबाट ह्याक गरी चार लाख रुपैयाँ झिकिएको भन्दै परिसरमा जाहेरी दिएपछि विशेष टोली गठन गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले हेटौंडा, काठमाडौं र ललितपुरबाट आठ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भारत घर भई काठमाडौंको चाबहिल बस्ने २९ वर्षीय अवधेश कुमार, सप्तरी घर भई बौद्ध बस्ने ३४ वर्षीय दीलिपकुमार चौधरी, पर्साका ३३ वर्षीय अजय चौधरी भन्ने नगेन्द्र साह कानु, रौतहट घर भई हेटौंडा बस्ने २७ वर्षीया रविना चौधरी, बारा घर भई हेटौंडा बस्ने सन्तोष कुँवर छन्। यस्तै वीरगन्जका २८ वर्षीय राजु पटेल, २० वर्षीय साहिल परबैज र १९ वर्षीय शिवशंकर राउत रहेको प्रहरीले जनाएको छ ।
एसएसपी सिद्धिविक्रम शाहका अनुसार उनीहरूले काठमाडौं उपत्यका र हेटौंडामा बसेर यो धन्दा चलाइरहेका थिए। ठगी गर्ने समूहका नाइके राजु पटेल हुन्। उनीहरूमाथि थप अनुसन्धान गर्न उच्च अदालत पाटनबाट बैंकिङ कसूरमा म्याद थप गरेको छ।