गुल्मी//
गुल्मीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा श्रीमान श्रीमती पक्राउ परेका छन । सत्यवती गाउँपालिका–१ का छबीलाल अधिकारी र उनकी श्रीमति विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुलेको हो । प्रहरीले आज दुई जनालाई आज सार्वजनिक गरेको छ । बयानका क्रममा दम्पतीले आरोप स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । दम्पतीले हत्या गरी उक्त भारतिय नागरिकको शव नदीमा फालेका थिए ।
उक्त शव माघ १९ मा फेला परेपछि अनुसन्धान सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको सात जनाको टोलीले घटनाको अनुसन्धान गरेको थियो । बयानका क्रममा अभियुक्तहरुले गत माघ १२ मा मादक पदार्थ सेवन गरेका भारतीय नागरिक आलिनामले छबिलालकी श्रीमति विष्णु अधिकारीलाई जिस्काएको र त्यसैको रिसमा दम्पती मिलेर हथौडा प्रहार गरी हत्या गरेको बताएको प्रहरीको भनार्इ छ। शव हेर्दा टाउको तथा निधारको भागमा गहिरो चोट लागेको देखिएकाले शंकास्पद लागेपछि घटनाको विस्तृत अनुसन्धान गरिएको थियो ।