काठमाण्डौ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । एमालेका मुख्यमन्त्री राजन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाअनुसार हिजो बिहीवार कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त हुनुभएसंगै आज शुक्रवार प्रदेश प्रमुख देवराज जोशीबाट मुख्यमन्त्री शाहीले शपथ लिनुभएको हो । गएको पुस २७ गते एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउनुभएको हो ।
यसैबीच नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार मन्त्री र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँहरूले पनि प्रदेश प्रमुख जोशीबाट आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।