२ फागुन , एजेन्सी ।
न्युजिल्यान्डले राष्ट्रिय आपत्काल घोषणा गरेको छ । गेब्रियल नामको चक्रवातले नर्थल्यान्डमा ठूलो बाढी र पहिरो निम्त्याएपछि आपत्कालीन व्यवस्थापन मन्त्री केइरन म्याकअनल्टीले घोषणामा हस्ताक्षर गर्नुभएको हो । न्युजिल्यान्डको इतिहासमा यो तेस्रो पटक राष्ट्रिय आपत्काल घोषणा गरिएको हो । यसअघि क्राइस्टचर्च आतङ्ककारी हमलापछि सन् २०१९ मा र कोभिड महामारीको बेला सन् २०२० मा आपत्कालको घोषणा भएको थियो । अहिले चक्रवातका कारण समुद्री छालहरु पनि उठिरहेका छन् ।
न्युजिल्यान्डमा भारी वर्षा र तीव्र हावाका कारण ३८ हजारभन्दा बढी मानिसले घरमा बिजुली गुमाएका बीबीसीको खबरमा उल्लेख छ। ५ सयभन्दा बढी उडानहरू रद्द भएकाले दश हजार हवाई यात्रु प्रभावित भएका अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । न्युजिल्यान्डको मौसम विज्ञान एजेन्सी, मेटसर्भिसले अकल्यान्डको उत्तरी सहर वाङ्गरेइमा पछिल्लो २४ घण्टामा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको बताएको छ । चक्रवातले अझै भीषण वर्षा र बलियो हावाबाट क्षति ल्याउन सक्ने अनुमान गरिएकोले मानिसहरूलाई यात्रा नगर्न भनिएको छ । अकल्यान्ड र उत्तरी टापुमा धेरै विद्यालय र स्थानीय सरकारी कार्यालयहरु पनि बन्द छन् ।