३ फाल्गुन, बुटवल ।
बुटवल उपमहानगरपालिकाले ६४औं स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्ति र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । आज बुधबार आयोजित स्थापना दिवस कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएकाले सुधार गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो। उहाँले संघ, प्रदेश र स्थानीय सरकारबीचमा सहकार्य गरी अर्थतन्त्रलाई उकास्न प्रयत्न गर्नुपर्ने बताउनुभयो। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई मुलुककै अगुवा शहर बनाउने योजनाका साथ अगाडि बढेको बताउनुभयो। उहाँले ऐतिहासिक, औद्योगिक र पर्यटकीय नगर बुटवललाई समृद्ध बनाउनका लागि सबैको साथ, सहयोग जरुरी रहेको बताउनुभएको छ।
कार्यक्रममा निवर्तमान नगर प्रमुख शिवराज सुवेदी, निवर्तमान उपप्रमुख गुमादेवी आचार्य, नेकपा एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवाली, माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुसाल, नेपाली कांग्रेस बुटवल नगर उपसभापति ज्योति भण्डारी, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष चिनबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु लगायतले बोल्नुभएको थियो। स्थापना दिवसको अवसरमा पर्यटन प्रवद्र्धन पुरस्कार, विपद सचेतना पुरस्कार, उत्कृष्ट टोल विकास संस्था र उपभोक्ता समिति लगायत गरी २५ जनालाई सम्मान गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभएको छ ।