रुपन्देही।
वन वाटिकाको टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत हुने भएको छ । लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वनवाटिकालाई शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमएसमार्फत अनलाइन टिकटिङ सफ्टवेयर निर्माण गरी उपलब्ध गराइसकेको छ । एक समारोहबीच शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि।ले अनलाइन टिकटिङ सिस्टमको क्यूआर कोड र चारवटा स्क्यान मेशिन वनवाटिकालाई हस्तान्तरण गरेको हो ।
सो अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले प्रविधिको प्रयोगबाट व्यक्ति, संस्था र देशको आर्थिक कारोबार सुरक्षित, व्यवस्थित र पारदर्शी हुने भएकाले सबै आर्थिक कारोबारहरु डिजिटलाइज गर्दै जानु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । वनवाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले संस्थाले तीन वर्ष अघिदेखि नै अनलाइन टिकटिङमा जाने सोंच बनाए पनि कोरोना महामारीका कारण ढिलाइ भएको भन्दै अनलाइन टिकटिङ सिस्टमले संस्था प्रविधियुक्त र आर्थिक कारोबार पारदर्शी हुने बताउनुभयो ।