काठमाडौं // नेपाल क्रिकेट संघ (क्यान) ले यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ। क्यानले बिहीबार यूएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–टूको लागि सन्दीप लामिछानेको ठाउँमा प्रतिस जिसीलाई टिममा राखेको छ।
नाबालिग बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशपछि थुनामा रहेका सन्दीप उच्च अदालत पाटनको जारी आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए। अदालतले सन्दीपलाई काठमाडौंभन्दा बाहिर जान नपाउने सर्त राख्दै रिहा गरेको थियो। क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा भने उनलाई टिममा राखेको थियो। कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपको नाम समावेश नै नगरेको स्रोतले बताएको छ।
नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनी तथा मार्च २ (फागुन १८) मा घरेलु टोली यूएईसँग नेपालको खेल्नेछ । यस्तै, मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्नेछ भने अन्तिम खेल मार्च ६ (फागुन २०) मा यूएईसँग खेलेर नेपाल फर्कनेछ ।
नेपाली टोली:
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम(मौसम) ढकाल