झविन्द्र देवकोटा, बुटवल ।
रुपन्देहीको तिलोत्तमा शंकनगरमा रहेको न्यु लाइट कलेजमा पुरस्कार वितरण, खाना महोत्सव तथा छात्रवृति वितरण कार्यक्रम भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि कलेजका विद्यार्थीले खाना महोत्सव गरेका थिए भने विद्यालयले पुरस्कार वितरण तथा छात्रवृति वितरण कार्यक्रम गरेको हो । कार्यक्रममा कलेजले स्नातक तहमा अध्ययन गर्ने गरिव तथा जेहन्दार १६ जना विद्यार्थीहरुलाई छात्रवृति तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । कलेज ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीलाई पुरस्कार तथा छात्रवृति वितरण गर्दै संघीय सांसद बासुदेव घिमिरेले डिजिटल युग अनुसारको शैक्षिक गतिविधीलाई शिक्षालयहरुमा प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले मुलुकमा नयाँ शैक्षिक ऐनको खाँचो रहेको बताउँदै शिक्षा ऐन समयानुकुल नभएकाले गुठी लगायतका क्षेत्रबाट संचालन भएका विद्यालयको अवस्था जटिल हुँदै गएको बताउनुभयो । उहाँले गुठीका कारण संचालनमा समस्या भएका शिक्षालयको सुधारका लागि शिक्षा ऐन सुधारका लागि आफुले पहल गर्ने आवश्वासन पनि सोही अवसरमा दिनुभयो । कार्यक्रममा कलेज प्रमुख रमेश ज्ञवालीले दक्ष शैक्षिक जनशक्ति उत्पादनमा न्यु लाईटले नयाँ र सीपमुलक तथा ब्यवहारिक शैक्षिक गतिविधीलाई जोड दिएको बताउनुभयो ।
कलेजले वार्षिक कार्यतालिका अनुसार एकसाता अगाडिदेखि सप्ताहब्यापी खेलकुद कार्यक्रम लगायतका अतिरिक्त कृयाकलापहरु गर्दै आएको कलेजका शैक्षिक निर्देशक राजेन्द्र कुँवरले जानकारी दिनुभयो । पुरस्कार वितरण कार्यक्रमको अवसर पारी कलेजले खेलकुद तथा शैक्षिक पुरस्कार वितरण, विद्यार्थीद्वारा खाना महोत्सव, खुल्ला नृत्य प्रतियोगिता लगायतका कार्यक्रम गरेको शैक्षिक निर्देशक कुँवरले जानकारी दिनुभयो । ११, १२ सँगै स्नातक तहमा शिक्षा तथा ब्यवस्थापन संकायमा अध्ययापन गराउँदै आएको न्यु लाईटमा एक हजार ४९ विद्यार्थीहरुले अध्ययन गर्ने गरेको लेखा प्रमुख रविन शाक्यले जानकारी दिनुभयो ।कार्यक्रममा सल्लाहकार ईश्वरचन्द पोखरेलले शुभकामना मन्तव्य राख्नु भएको थियो । अतिरिक्त कृयाकलाप प्रमुख खेमराज खनालले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।