देवदह । रुपन्देहीको देवदहमा १५ दिने जुत्ता चप्पल बनाउने तालिम सुरु भएको छ ।उपप्रमुख संग महिला कार्यक्रम अन्तर्गत देवदह नगरपालिका वडा नम्बर ६ मा उक्त तालिम सुरु भएको हो ।
ग्लोबल कलेज अफ इन्जिनियरिङ टेक्नोलोजी प्रालीको आयोजना, देवदह नगरपालिकाको आर्थिक सहयोग र सेवा डिल देवदहको प्राविधिक सहयोगमा सुरु भएको जुत्ता चप्पल बनाउने तालिममा देवदह नगरपालिका वडा नम्बर ५ र ६ को गरि ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेलले थोरै लगानी बाट पनि धेरै आम्दानी गर्न सकिने बताउनुभयो । मानविय विकास नभै मुलुक समृद्द हुन नसक्ने बताउँदै नगर प्रमुख खरेलले नागरिकको आर्थिक अवस्था सुधार गर्नका लागि नगरपालिकाले योजना बनाएको बताए।
स्थानीयले उत्पादन गरेका बस्तुलाई बजारीकरण गर्न नगरपालिकाले सहयोग गर्ने बताउँउदै तालिममा मात्र सिमित नभएर सिकेका सिपलाई व्यावहारमा उतार्न समेत नगर प्रमुख खरेलले आग्रह गरे ।
नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले नगरवासीलाई सीप सिकाई उद्यमी बनाउने योजना सहित तालिमको आयोजना गरिएको बताइन् । वडा नम्बर ५ र ६ को महिला सङ्ग अन्तरक्रिया गरेर कुन तालिम ल्याउदा उचित हुन्छ भन्ने छलफल गरि जुत्ता चप्पल बनाउने तालिम संचालन गरिएको उपप्रमुख गुरुङले बताइन् ।
मानवीय विकास र समग्रमा महिला दिदिबहिनीलाई आत्मनिर्भर र सशक्तीकरण बनाउन उपप्रमुख सङ्ग महिला कार्यक्रम अन्तर्गत विभिन्न किसिमका सिप मुलक तालीम संचालन गर्दै आएको उपप्रमुख गुरुङको भनाई थियो ।
नगर प्रबक्ता तथा देवदह ५ का वडा अध्यक्ष गणेश डुम्रेले समृद्ध देवदह बनाउने अभियानमा जोडिन नगरवासीलाई आग्रह गरेका छन् । तालिमका लागि अन्तर्वार्ता मार्फत प्रशिक्षार्थी छनोट गरिएको बताउँदै नगर प्रबक्ता डुम्रेले महिलाहरुलाई आर्थिक उपार्जनमा जोडि उद्यमशिल बनाउने अभियानमा लागेको बताए।
तालिममा देवदह नगरपालिकाका शिक्षा अधिकृत उपसचिव टिकाराम शर्मा, वडा नम्बर ६ का अध्यक्ष खेम बहादुर थापा, वडाका जनप्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
तालिम देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता, ग्लोबल कलेज अफ इन्जिनियरिङ टेक्नोलोजी प्रालीका प्रबन्ध निर्देशक काशिराम खनालको स्वागत र देवदह नगरपालिकाका कर्मचारी सुरज पोख्रेलीको संचालनमा सम्पन्न भएको थियो।