देवदह । हरेक जातजातिको भाषा, धर्म , संस्कार र पहिचानको रक्षा गर्ने जिम्मेवारी नगरपालिकाको भएको देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले बताउनु भएको छ। मितेरी तमु समाजको भवन शिलान्यास गर्दै वहाँले उक्त कुरा बताउनु भएको हो।
देवदह नगरपालिका आफैमा विविधताले भरिएको नगर भएकोले हरेक जातजातिको अस्तित्व संरक्षण र संवर्धनमा नगरपालिका लागिरहेको वहाँले बताउनु भयो। गुरुङ जातिको रीतिरिवाज र परम्परा जगेर्नाका लागि सामुदायिक भवनको अति आवश्यक भएकोले नगरपालिकाले हरेक आर्थिक बर्षमा सक्दो सहयोग गर्दै आइरहेको वहाँको भनाई थियो।
कार्यक्रममा नगर प्रवक्त तथा वडा नं.५का वडाध्यक्ष गणेश डुम्रेले पहाडबाट बसाई सराई गरेर तराईमा स्थानान्तरण भएका गुरुङ जाति एक विशिष्ट पहिचान बनाएका समुदाय भएकाले उनीहरुको सामुहिक क्रियाकलाप समुदायका लागि उत्कृष्ट नमूना भएको चर्चा गर्नुभयो । वहाँले सामुदायिक भवन बनाउँदा बहुउद्देश्यीय बनाउनु पर्ने र समाजले आय आर्जन गर्न, बृद्धबृद्धा र बालबालिकाको आश्रय स्थल र अध्ययन केन्द्रको रुपमा निर्माण गर्नु पर्ने बताउनु भयो।
समाजका प्रमुख सल्लाहकार राम बहादुर गुरुङले समाजको हरेक क्रियाकलापलाई व्यवस्थित रुपले सञ्चालन गर्नको लागि भवनको आवश्यकता परेको र हाल समाजमा आर्थिक अभाव भएकोले भने जस्तो काम गर्न नसकिएको बताउनु भयो। सामुदायिक भवनहरु बनाउँदा भविष्यमा आइपर्ने विविध समस्याहरुमा उक्त भवन प्रगोग गर्न सकिने हुँदा नगरपालिकाले भवन निर्माणमा सक्दो सहयोग गर्नु पर्ने बताउनु भयो। कार्यक्रममा वडा नं.५का वडा सदस्य सावित्रा पौडेल, समाजसेवी प्रविण पौडेल, समाजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम अध्यक्ष ज्ञान बहादुर गुरुङको अध्यक्षता, राम बहादुर गुरुङको स्वागत र सचिव तुल बहादुर गुरुङको सञ्चालनमा भएको थियो।