काठमाण्डौ ।
सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैङ्कबाट प्राप्त हुने १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋणसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने भएको छ । सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आज मङ्गलवार हिजो बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै वार्ता टोली गठन गर्ने जानकारी गराउनुभएको हो ।
उहाँका अनुसार विश्व बैंकबाटै प्राप्त हुने ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदान सहायतासम्बन्धी सम्झौतालाई पनि अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय भएको छ। बैठकले कर्णाली कोरिडोर ४ सय केभी प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने निर्णय पनि गरेको छ ।