२१ फागुन, रुपन्देही ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ मा रहेको कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रगतको कमीबाट कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्धेश्यले आज आफ्नो नियमित बार्षिक कार्यक्रम अन्तर्गत सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । संस्थाका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक प्रभा भण्डारी घिमिरेले रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको जानकारी दिनुभएको छ। उहाँले हामीले खाने स्वच्छ भनिएका खानेकुरा खाँदा खाँदै पनि शरीरमा रगत जन्य पदार्थको कमि भैरहेको र त्यसका लागि बिषादी रहित खानामा जोड दिनपनि आग्रह गर्नुभयो ।
सो अवसरमा प्रमुख अतिथि एवं तिलोत्तमा नगरपालिका वडा नं तीन का वडाध्यक्ष कल्याणप्रसाद पौडेलले कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्ने खालका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटा, सहकारीका निबर्तमान अध्यक्ष यज्ञ प्रसाद सापकोटा, सहकारीका सल्लाहकार होमप्रसाद शर्मा सापकोटा, टंकप्रसाद तिवारी लगायतले कार्यक्रममा शुभकामना व्यक्त गर्नुभएको थियो। संस्थाका सचिव कल्पना शर्माको संचालनमा भएको कार्यक्रममा सहकारीका सेयर सदस्य तथा सर्वसाधारणहरु समेत कार्यक्रममा सहभागी भएका थिए ।