काठमाण्डौ ।
श्री एअरलाइन्सको उडान फुकुवा भएको छ । प्राधिकरणका प्राविधिकबाट श्री एअरलाइन्सको उडानमा रहेका जहाजको आज शुक्रवार प्राविधिक सुरक्षा जाँच गरेपछि उडान फुकुवा गर्ने निर्णय भएको हो । प्राधिकरणले आज बिहान श्री एअरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको थियो । प्राधिकरणले दिएका सुझावको कार्यान्वयन गर्ने गरी एअरलाइन्सको उडान फुकुवा गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभएको छ ।
प्राधिकरणबाट पुनः उडान अनुमति पाएसँगै भोलि शनिवारदेखि नियमित उडान सञ्चालन गरिने श्री एअरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिनुभएको छ । हिजो बिहीवार काठमाण्डौबाट भैरहवा उडान भरेको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि त्यो जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो। श्री एअरलाइन्सका साना–ठूला गरी आठ वटा जहाज छन् । तीमध्ये चार वटामात्रै सञ्चालनमा छन् ।