काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकोले आफू मृत्युदण्डको पक्षमा नरहेको बताउनुभएको छ। मंगलबारबाट काठमाडौँमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले बुद्ध जन्मेका देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान नहुने उल्लेख गर्नुभएको हो । अध्यक्ष ओलीले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीति भइरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो।