एजेन्सी ।
चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध पूर्णरूपमा हटाएको छ । भोलि बुधवारदेखि विदेशी पर्यटकहरूलाई भिसा जारी गर्ने चीनको विदेश मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । कोरोना महामारी नियन्त्रण गर्न सरकारले केही महिना अघिसम्म कठोर शून्य कोभिड रणनीति अवलम्बन गरेको थियो । सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ । चिनियाँ विदेश मन्त्रालयले जारी गरेको सूचनामा नयाँ भिसा आवेदनको समीक्षा र स्वीकृतिका साथै २०२० को मार्च २८ अघि जारी गरिएका तर म्याद नगुज्रिएका भिसावाहकले पुनः चीनमा प्रवेश गर्न पाउने उल्लेख छ।
सरकारले जारी गरेको भिसासम्बन्धी अद्यावधिक नीतिले पानी जहाजबाट शङ्घाई आउनेहरूका साथै हङकङ, मकाउ र आसियान क्षेत्रीय समूहभित्रका देशका निश्चित पर्यटक समूहहरूका लागि विना भिसा यात्राको अनुमति दिएको छ । राष्ट्र सङ्घीय विश्व पर्यटन सङ्गठनका अनुसार कोरोना महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ मा छ करोड ५७ लाख अन्तर्राष्ट्रिय पर्यटकले चीन भ्रमण गरेका थिए । विश्वका धेरैजसो देशले महामारीका कारण बन्द गरिएको यात्रा अनुमति पुनः खुला गरेपछि चीनले पनि गएको वर्षको अन्त्यतिर यात्रा अनुमति दिएको हो ।