भैरहवा ।
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको सुपर फोरको खेलमा बीएम डब्लु वेष्टर्न क्रिकेट क्लबले मेलवर्न क्रिकेट क्लबमाथि सानदार जित निकालेको छ । वेष्टर्नले २ सय ६ रनले फराकिलो अन्तरसहति सानदार जित निकालेको हो । सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको नोक्सानीमा ३ सय १ रनको उच्च योगफल बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको मेलवर्न २४।१ ओभरमा अलआउट हुँदै जम्मा ९५ रनमै समेटियो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नका देव खनालले ४, अभिषेक गौतमले २ तथा सन्देश थापा, अनिल खरेल र अनिल साहले समान १–१ विकेट लिए । मेलवर्नका मोहम्मद हुसेनले ३९ रन बनाए पनि अन्य सबै ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् र टिम पराजित भयो । वेष्टर्नका देव खनाल म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए । चैत्र ४ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् ।