बुटवल।
नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधि बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब, बुटवलले हात पारेको छ । आज (शनिबार) भैरहवामा सम्पन्न फाइनल खेलमा लुम्बिनी खुकुरी क्लबमाथि ५२ रनको जीत निकाल्दै वेष्टर्नले उपाधि चुम्न सफल भएको हो । खुकुरी उपविजेता बनेको छ। उपाधिसँगै वेष्टर्नले १ लाख रुपैयाँ र ट्रफी हात पारेको छ भने उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले ५० हजार र ट्रफी प्राप्त गरेको छ ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले मौसमका कारण ३६ ओभरमा झारिएको खेलमा २२.३ ओभरमा खेल्दै सबै विकेट गुमाएर जम्मा ९४ रनको झिनो योगफल बनाएको थियो । प्रतिउत्तरमा ९५ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी खुकुरी २०.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५२ रनमै समेटियो र उपविजेतामा चित्त बुझायो । खुकुरीका कुनै पनि खेलाडीले दोहोरो रन जोड्न नसक्दा टीमले सामान्य लक्ष्य भेट्टाउन नसकी हार व्यहोरेको हो । प्रतियोगितामा ए र बी डिभिजनका गरी २० टीमको सहभागिता थियो ।