काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । यसअघि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक पुस २६ गते विश्वासको मत लिनुभएको थियो । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। सरकारमा सहभागी भएका भई समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संवैधानिक व्यवस्थाअनुसार फेरि विश्वासको मत लिन लाग्नुभएको हो ।
पहिलोपटक विपक्षी कांग्रेसको समेत समर्थन प्रधानमन्त्रीले पाउनुभएको थियो । यसपटक नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीबाहेकका सांसदको मत पाउने सम्भावना छ । प्रधानमन्त्रीमा कायम रहन प्रचण्डलाई १ सय ३८ सांसदको विश्वास पुर्याउनुपर्छ ।