एजेन्सी ।
दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कर अवार्ड जितेर रेकर्ड बनायो । ९५औँ ओस्कर अवार्डमा दुई भारतीय फिल्म ‘आरआरआर’ र ‘द एलिफ्यान्ट व्हिस्परर्स’ले अवार्ड हात पारेका थिए । भारतीय फिल्मका लागि यो ठूलो उपलब्धि रह्यो। गोल्डेन ग्लोब अवार्ड पनि पाएको ‘आरआरआर’ फिल्मको उक्त गीत ओस्करमा छानिएपछि फिल्मको टीम मात्र नभएर पूरै भारतभरि नै खुसियाली छाएको सामाचारमा उल्लेख छ ।
तर, अहिले यो ऐतिहासिक क्षणको हिस्सा बन्नका लागि राजामौलीले मोटो रकम तिरेको खुलासा भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार राजामौली अभिनेता रामचरण र जुनियर एनटीआरले ओस्कार समारोहमा भाग लिन शुल्क तिर्नुपरेको थियो । अवार्ड हेर्न फिल्मको टीमले टिकट किन्न लाखौं रूपैयाँ खर्च गर्नुपरेको थियो। उक्त टिकटको मूल्य करिब २५ हजार डलर अर्थात् २० लाख ६३ हजार भारतीय रुपैयाँ खर्च गर्नुपरेको थियो । यस गीतका गीतकार चन्द्र बोस र संगीतकार एमएम कीरावाणी र उनका पत्नीहरूलाई मात्र समारोहमा निःशुल्क प्रवेश दिइएको थियो । ओस्करका अवार्डमा अर्वाड विजेता र उनीहरुका परिवारका सदस्यले मात्र निःशुल्क प्रवेश पाउँछन् । जबकि अन्य सबैले कार्यक्रम लाइभ हेर्न टिकट किन्नुपर्ने हुन्छ ।